काठमाडौं – निर्वाचन आयोग नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन पेश गरेका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिका बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरे। उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी तथा सम्बद्ध सबै पक्षलाई धन्यवाद दिए।
राष्ट्रपति पौडेलले भने, “प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न हुनु लोकतन्त्रका लागि सकारात्मक संकेत हो। यसले निर्वाचन आयोग र समग्र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अझ मजबुत बनाएको छ।”
उनले निर्वाचन सफलताले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाएको अनुभूति भएको पनि उल्लेख गरे।

