नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण आगामी चैत्र १२ गते हुने भएको छ। संघीय संसद सचिवालयले बिहीबार सिंहदरबारमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्दै सो दिन दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाएको हो।
छलफलमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलका प्रतिनिधिहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम तथा संसदीय दलको कार्यालय व्यवस्थापन लगायतका विषयमा विचार-विमर्श गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
उनका अनुसार शपथ ग्रहण अघि ज्येष्ठ सदस्यको पहिचान गरिनेछ। ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिएपछि अन्य सदस्यहरूलाई शपथ गराउने व्यवस्था मिलाइनेछ।
त्यस्तै, नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन दलहरूसँग सुझाव समेत लिइएको छ। प्राप्त सुझावअनुसार सैद्धान्तिक भन्दा व्यवहारिक पक्षमा केन्द्रित अभिमुखीकरण आवश्यक रहेको प्रवक्ता गिरीले बताए।
संसदीय दलका कार्यालय व्यवस्थापन चुनौतीपूर्ण रहे पनि उपलब्ध स्रोतसाधनका आधारमा व्यवस्थापन गरिएको उनले उल्लेख गरे। छलफलपछि दलका प्रतिनिधिहरूलाई संसदीय दलका कार्यालयहरू समेत अवलोकन गराइएको थियो।
संख्यात्मक आधारमा ठूला दलहरूलाई प्राथमिकता दिँदै दलका कार्यालय व्यवस्थापन गरिएको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेकपाको दलको कार्यालयमा व्यवस्थापन गरिएको सचिवालयले जनाएको छ।

