काठमाडौं । प्रभु बैंकका कर्पोरेट एण्ड प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डङ्गोल बैंकिङ्ग कसुरको अभियोगमा पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले डङ्गोललाई बैंकको उच्च ओहोदामा रहँदै प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गरेको आरोपमा नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा प्रतिवादी अशोक शेरचन लगायतका व्यक्तिहरूमाथि भइरहेको छानबिनका क्रममा नयाँ तथ्य र प्रमाण फेला परेपछि डङ्गोललाई पक्राउ गरिएको जानकारी दिइएको छ।
साइबर ब्युरोका अनुसार डङ्गोलले प्रभु म्यानेजमेन्ट प्रालि लगायतका संस्थाहरूमा प्रवाह गरिएको कर्जाको दुरुपयोग गरेका छन् र वित्तीय अनुशासन उल्लंघन गरेको पाइएको छ। पक्राउ परेका डङ्गोलमाथि जिल्ला अदालत काठमाडौंले म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाएको छ।
बैंकको महत्वपूर्ण विभाग सम्हालेका उच्च अधिकारी पक्राउ परेपछि बैंकिङ्ग क्षेत्रमा नयाँ तरङ्ग पैदा भएको छ।

