काठमाडौं— डोनाल्ड ट्रम्प प्रशासनका उच्च सहयोगी जो केन्ट ले इरान युद्धसम्बन्धी असहमतिका कारण पदबाट राजीनामा दिएका छन्।
आतङ्कवादविरोधी केन्द्रका निर्देशक रहेका केन्टले इरानसँग युद्ध गर्ने विषय र त्यसको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पद त्यागेको जनाइएको छ। उनले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान पुनर्विचार गर्न आग्रह गरेका छन्।
केन्टका अनुसार इरान तत्काल अमेरिकाका लागि प्रत्यक्ष खतरा नभएको उल्लेख गर्दै ट्रम्प प्रशासनले इजरायल तथा अमेरिकी शक्तिशाली लबीको दबाबमा युद्ध सुरु गरेको दाबी गरेका छन्। यसबारे बीबीसी ले पनि समाचार प्रकाशित गरेको छ।
४५ वर्षीय केन्ट अमेरिकी विशेष बल र सीआईएका अनुभवी अधिकारीका रूपमा चिनिन्छन्। उनकी श्रीमती शैनन केन्ट अमेरिकी नौसेनामा ‘क्रिप्टोलोजिक टेक्निसियन’का रूपमा कार्यरत थिइन्। सन् २०१९ मा सिरियामा भएको आक्रमणमा उनको मृत्यु भएको थियो।
केन्टको राजीनामापछि राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिँदै उनलाई सुरक्षाका मामिलामा कमजोर रहेको आरोप लगाएका छन् र उनको बहिर्गमन उचित भएको बताएका छन्।

