भैरहवा – भैरहवा क्षेत्रका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। आयात नियमित भइरहेको बताइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्।
स्थानीयका अनुसार एउटा ग्यास सिलिण्डर पाउनका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ। धेरै स्थानमा ग्यास विक्रेताको पसलअगाडि सिलिण्डर लिएर उपभोक्ताको लामो लाइन देखिने गरेको छ। विक्रेताले मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको उनीहरूको भनाइ छ।
स्थानीय उपभोक्ता प्रदीप ज्ञवालीले लामो समयसम्म पालो कुर्दा पनि ग्यास नपाउँदा भान्छा चलाउन समस्या भएको बताए। “दैनिक खाना पकाउनकै लागि पनि ग्यास पाउन गाह्रो भइरहेको छ, यसले दैनिक जीवन नै कष्टकर बनाएको छ,” उनले भने।
ग्यास विक्रेताहरूले पनि कम्पनीबाट पर्याप्त ग्यास नआएकाले बजारमा अभाव देखिएको बताएका छन्। मागअनुसार आपूर्ति नहुँदा उपभोक्तालाई उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ।
तर भैरहवा भन्सार कार्यालय का प्रमुख भन्सार अधिकृत हरिहर पौडेल का अनुसार ग्यास आयात भने नियमित भइरहेको छ। उनका अनुसार केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको छ। दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी रहेको उनले बताए।
स्थानीय ग्यास विक्रेताका अनुसार सम्भावित अभावको आशङ्कामा उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा समस्या देखिएको हो। पहिले दैनिक सीमित मात्रामा बिक्री हुने ग्यास सिलिण्डर अहिले केही घण्टामै सकिने गरेको उनीहरूको भनाइ छ।
यस्तै, सीमावर्ती क्षेत्रमा नेपालबाट भारत तर्फ ग्यास सिलिण्डर लैजाने प्रयाससमेत बढेको बताइएको छ। भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभाव देखिएकाले सीमावर्ती क्षेत्रबाट ग्यास तस्करी भइरहेको स्थानीय बासिन्दाले बताएका छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रूपन्देही का प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्द ले सीमाबाट ग्यासको अवैध ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी कडा पारिएको जानकारी दिए।
यसैबीच इलाका प्रहरी कार्यालय बेलहिया ले भारततर्फ लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको केही ग्यास सिलिण्डर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले सीमामा निगरानी बढाइएको र अवैध ओसारपसार रोक्न आवश्यक कदम चालिएको बताएको छ।

