काठमाडौं — कर्जा सूचना केन्द्रको कालो सूचीमा परेको कारण उम्मेदवारी खारेज भएका रास्वपाका धनुषा–१ का उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिटको सुनुवाइ शुक्रबार सकिएको छ।
सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा भएको हो। किशोरी साहले आफूविरुद्ध गरिएको उम्मेदवारी खारेजको निर्णयको पुनरावलोकनका लागि रिट दायर गरेकी थिइन्।
निर्वाचन आयोगले फागुन १८ गते साहको उम्मेदवारी खारेज गरेको थियो। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को ‘ज’ अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको ठहर गर्दै उनको उम्मेदवारी खारेज गरेको थियो।

