काठमाडौं — चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आर्थिक वर्षको असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले वृद्धि भई २६ खर्ब ७७ अर्ब रुपैयाँबाट बढेर ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो।
अमेरिकी डलरमा गणना गर्दा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा माघ मसान्तसम्म १६.७ प्रतिशतले बढेर २२ अर्ब ७६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पनि उल्लेख्य रूपमा बढेको छ। असार मसान्तमा २४ खर्ब १४ अर्ब रुपैयाँ रहेको यस्तो सञ्चिति माघ मसान्तसम्म २१.२ प्रतिशतले वृद्धि भई २९ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको छ।
चालू आर्थिक वर्षको पहिलो सात महिनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चिति बैंकिङ क्षेत्रसँग २१.३ महिनाको वस्तु आयात तथा १८ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
विदेशी विनिमय सञ्चितिमा भएको यो वृद्धि रेमिट्यान्स आप्रवाह, आयातमा आएको नियन्त्रण तथा समग्र बाह्य क्षेत्रको सुधारका कारण भएको राष्ट्र बैंकको विश्लेषण छ।

