काठमाडौं – संयुक्त अरब इमिराट्स (यूएई) को यूएई रक्षा मन्त्रालय ले सोमबार देशको वायु रक्षा प्रणालीले इरानबाट प्रक्षेपण गरिएका नौवटा ब्यालिस्टिक मिसाइल, छवटा क्रुज मिसाइल र १४८ वटा ड्रोन सफलतापूर्वक नष्ट गरेको जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेको विस्तृत विवरणअनुसार आक्रमण सुरु भएदेखि हालसम्म कुल १७४ वटा ब्यालिस्टिक मिसाइल पत्ता लागेका छन्। तीमध्ये १६१ वटा अवरोध गरी नष्ट गरिएको तथा १३ वटा समुद्रमा खसेको बताइएको छ। यसैगरी, ६८९ वटा इरानी ड्रोनमध्ये ६४५ वटा अवरोध गरिएको र ४४ वटा यूएईभित्र खसेको उल्लेख गरिएको छ।
यसका अतिरिक्त आठवटा क्रुज मिसाइल पत्ता लगाई नष्ट गरिएको मन्त्रालयले जनाएको छ। तीमध्ये केहीले सीमित क्षति पुर्याएको बताइएको छ। आक्रमणका कारण तीन जनाको मृत्यु भएको र ६८ जनालाई सामान्य चोटपटक लागेको पुष्टि गरिएको छ।
देशका विभिन्न भागमा सुनिएका ठूलो आवाजहरू वायु रक्षा प्रणालीले ब्यालिस्टिक मिसाइल अवरोध गर्दा तथा लडाकु विमानहरूले ड्रोन र क्रुज मिसाइललाई लक्ष्य गर्दा उत्पन्न भएको मन्त्रालयले स्पष्ट पारेको छ। यी कारबाहीका क्रममा केही नागरिक संरचनामा सामान्यदेखि मध्यम स्तरसम्म क्षति पुगेको जनाइएको छ।
मन्त्रालयले उक्त आक्रमणलाई “स्पष्ट आक्रामकता” र “राष्ट्रिय सार्वभौमिकता तथा अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन” भन्दै कडा शब्दमा निन्दा गरेको छ। साथै, आफ्नो भूभाग, नागरिक र बासिन्दाको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने तथा प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ।
हाल देश उच्च सतर्कतामा रहेको जनाउँदै मन्त्रालयले सम्भावित थप खतरा सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ। नागरिक, बासिन्दा तथा आगन्तुकको सुरक्षा नै पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र अफवाह तथा अप्रमाणित समाचार नफैलाउन आग्रह गरिएको छ।

