प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । यस क्षेत्रमा विशेषगरी रामनरेश यादव (जनता समाजवादी पार्टी नेपाल) र प्रदीप यादव (नेकपा एमाले) बीचको प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा ‘प्रतिष्ठाको लडाइँ’ का रूपमा हेरिएको छ ।
लामो समय सत्ता र शक्तिको केन्द्रमा रहेका प्रदीप यादव यसपटक एमालेको चुनाव चिन्ह लिएर मैदानमा छन् । विगतमा मधेस केन्द्रित दलबाट निर्वाचित भएका उनीमाथि मधेसका मुद्दा र वीरगञ्जको विकासमा अपेक्षाकृत काम नगरेको आरोप लाग्दै आएको छ । विकासलाई ‘विज्ञापनमै सीमित’ राखेको र सत्ताका लागि पटक–पटक कित्ता परिवर्तन गरेको भन्दै मतदातामाझ उनीप्रति असन्तुष्टि देखिएको विश्लेषण छ ।
उता, जसपाका आधिकारिक उम्मेदवार रामनरेश यादव भने स्वच्छ छवि, सांगठनिक निष्ठा र मधेस आन्दोलनदेखि निरन्तर सक्रिय भूमिकाका कारण मतदातामाझ लोकप्रिय बन्दै गएका छन् । उनलाई ‘परिवर्तनको संवाहक’ का रूपमा हेरिएको छ ।
रामनरेशको पक्षमा जनलहर बढ्नुका मुख्य कारणहरूमा पद र शक्तिका लागि पार्टी नफेर्ने स्थिर छवि, वीरगञ्जलाई ‘कमिसनमुक्त’ र औद्योगिक राजधानी बनाउने स्पष्ट एजेन्डा, तथा मधेसी पहिचान र अधिकारका मुद्दामा स्पष्ट अडानलाई लिइएको छ ।
नगवा, इनरुवा, मुडली, जगरनाथपुर लगायतका वडामा सम्पन्न ‘जनता दर्शन’ कार्यक्रमहरूमा उल्लेख्य सहभागिता देखिएको छ । स्थानीय मतदाताहरूले यसपटक काम गर्ने र झुठो आश्वासन नदिने नेतृत्व चाहिएको प्रतिक्रिया दिएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रदीप यादवसँग सत्ता र स्रोतको बल भए पनि रामनरेशसँग जनस्तरको सहानुभूति र सांगठनिक इमानदारिता बलियो देखिएको छ । यसपटकको प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ ।पर्सा–१ मा यस निर्वाचनले मधेसको राजनीतिक धारलाई नयाँ दिशा दिने सम्भावना देखिएको छ ।

