काठमाडौं — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले सातै प्रदेशमा सात प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ। निर्वाचन सुरक्षा चुस्त बनाउन प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागमा कार्यरत एआईजीहरूलाई प्रदेशस्तरीय कमाण्डको जिम्मेवारी दिइएको हो। उनीहरूले निर्वाचन अवधिभर प्रदेश मातहतका जिल्लाहरूको सुरक्षा समन्वय, अनुगमन र निर्देशन गर्नेछन्।
प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशमा एआईजी राजन अधिकारी खटिएका छन्। मधेश प्रदेशमा एआईजी डम्बर विक, बागमती प्रदेशमा एआईजी सिद्धिविक्रम शाह, गण्डकी प्रदेशमा एआईजी डा. मनोज केसी, लुम्बिनी प्रदेशमा एआईजी उमा प्रसाद चतुर्वेदी, कर्णाली प्रदेशमा एआईजी सुशील सिंह राठौर तथा सुदूरपश्चिम प्रदेशमा एआईजी हिमालय कुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।
काठमाडौं उपत्यकाका तीन जिल्लाको समग्र कमाण्ड एआईजी ईश्वर कार्कीले गर्नेछन् भने निर्वाचन सुरक्षा समन्वयका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा विशेष सेल गठन गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार प्रत्येक जिल्लामा कम्तीमा एसपी तहका अधिकृतबाट निर्वाचन सुरक्षा कमाण्ड गर्ने व्यवस्था मिलाइएको छ। पहाडी जिल्लाहरूमा जहाँ डीएसपीले कमाण्ड गर्दै आएका थिए, त्यहाँ एसपी खटाइएको छ भने संवेदनशील र चुनौतीपूर्ण जिल्लामा एसएसपी परिचालन गरिएको छ। केही एसपी तथा एसएसपीलाई दुई जिल्लासम्मको सुरक्षा कमाण्डको जिम्मेवारी दिइएको छ।
निर्वाचन सुरक्षाका लागि उपत्यकाबाट मात्रै १२ हजार ७०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), ट्राफिक प्रहरी, अपराध अनुसन्धान कार्यालयलगायत विभिन्न युनिटबाट समेत अतिरिक्त टोली खटाइएको छ। ट्राफिक प्रहरी निर्वाचन सुरक्षामा परिचालित हुँदा उपत्यकाको ट्राफिक व्यवस्थापनमा केही असर परेको जनाइएको छ।
प्रहरीले शंकास्पद स्थानहरूमा तालिमप्राप्त कुकुरसहित गस्ती, स्निफिङ तथा विशेष निगरानी बढाएको छ। साइबर सुरक्षालाई समेत प्राथमिकतामा राख्दै प्रहरी प्रधान कार्यालयमा मनिटरिङ डेस्क स्थापना गरिएको छ। सामाजिक सञ्जाल अनुगमन, निर्वाचन आयोगमा साइबर डेस्क र साइबर ब्यूरोमार्फत डिजिटल निगरानी तीव्र पारिएको प्रवक्ता काफ्लेले जानकारी दिए।
सीमा नाकामा कडा निगरानी, आवश्यक परे अस्थायी रूपमा नाका बन्द गर्ने र छिमेकी देशका समकक्षी निकायसँग समन्वय गर्ने तयारीसमेत गरिएको छ। दैनिक रूपमा जिल्ला सुरक्षा समिति र गृहमन्त्रालयको केन्द्रीय सुरक्षा समितिको बैठक बसेर सुरक्षा अवस्थाको विश्लेषण र रणनीति परिमार्जन गरिँदै आएको छ।
प्रहरीले पूर्वआईजीपी र निर्वाचन आयुक्तहरूसँग समेत छलफल गरी प्राप्त सुझावका आधारमा सुरक्षा रणनीति थप परिष्कृत गरिएको जनाएको छ। निर्वाचनलाई निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको प्रहरीको दाबी छ।

