कात्तिक १४ – गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन तथा पुनर्निर्माण योजना तयार गर्नका लागि ४४ जिल्लामा ३८ वटा अध्ययन टोली परिचालन भएका छन्।
राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा. दिवाकर लुइँटेलका अनुसार टोलीहरूलाई अबको एक हप्ता देखि १० दिनभित्र सबै क्षतिको विवरण सङ्कलन गर्ने गरी खटाइएको हो। तथ्याङ्क सङ्कलनमा एकरूपता र सहजता ल्याउन आयोगले ‘क्षति मूल्याङ्कन सर्वेक्षण पोर्टल’ सञ्चालन गरेको छ।
यस पोर्टलमार्फत सम्बन्धित पालिका, प्रदेश र सङ्घीय कार्यालयहरूले अनलाइन प्रणालीद्वारा क्षतिको विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसका लागि आयोगले क्षति पुगेका ४४ जिल्लाका पालिका, प्रदेश तथा सङ्घीय सरकारका विषयगत मन्त्रालय र केन्द्रीय निकायलाई ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराएको छ।
डा. लुइँटेलका अनुसार आइतवारसम्म सबै टोली कार्यस्थलमा पुगिसक्ने र एक हप्ताभित्र तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने योजना छ। सङ्कलित सबै विवरणहरू सर्वेक्षण पोर्टलमार्फत आयोगमा संकलन गरी पुनर्निर्माण योजना तयार पारिनेछ।

