काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गतकाे राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुभएकाे छ ।
सङ्घीय निजामती सेवा विधेयकमा व्यवस्था भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेल बाहिरिएपछि खतिवडाले आज प्रतिनिधिसभामा सम्बाेधन गर्दै राजीनामा दिनुभएकाे हाे ।
प्रतिनिधिसभामा सभापति खतिवडाले निजामती विधेयकलाई समितिबाट पारित गर्दा समितिले कर्मचारी प्रशासनको दाउपेच, शक्ति प्रदर्शन झेल्नुपरेको बताउनुभयाे । आफूले विधेयक गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति अन्तिमसम्म लागेको उहाँको भनाइ छ ।
खतिवडाले निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको दलिल र गरिहिएर नहेर्नु आफ्नो कमजोरी रहेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिमा निष्ठाको कमी रहेको अवस्थामा म इतिहासमा मेरो नाम दर्ज गर्न चाहन्छु । यस्ता कुरामा सबैको ध्यान पुगोस् । सङ्घीय निजामती विधेयक पारित गर्दा राज्य व्यवस्था तथा सुशासन समितिले धेरै कष्ट बेहाेर्नुपर्याे । विधेयकमाथिको दाउपेच र शक्ति प्रदर्शनको खेल तपाईंहरूले पनि देख्नुभयो । तिनीहरुको दबाव मैले, संसदीय समिति र सदनले पनि झेल्नु नै पर्याे ।’
खतिवडाले आफ्नो सभापतित्वको समयमा समितिबाट महत्त्वपूर्ण विधेयकहरू पारित गर्न सफल भएको दाबी गर्नुभयो ।
कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिबारे छानबिन गर्न गठित समितिले विधेयकको अन्तिम प्रतिवेदनमा हस्ताक्षर गरेका समिति सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरा जिम्मेवार रहेको निष्कर्ष निकालेको थियाे ।
यसअघि राज्य व्यवस्था समितिले सङ्घीय निजामती सेवाका कर्मचारीले राजीनामा दिएपछि तथा अवकाश पाएपछि अर्को संवैधानिक र राजनीतिक नियुक्तिका लागि २ वर्ष पर्खनुपर्ने व्यवस्थासहित विधेयक तयार पारेको थियो । तर विधेयक संसदमा पुर्याउँदा अर्को दफा थपेर निजामती सेवाका विशिष्ट र प्रथम श्रेणीबाहेकका कर्मचारीलाई लागू हुने भाषा प्रयोग भएको थियो ।
प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि मात्रै कुलिङ पिरियडमा चलखेल भएको थाहा भएको थियो ।

