साउन १५ — मधेश प्रदेश सरकार मातहतका पर्सा र बारा जिल्लास्थित कार्यालयहरूले गत आर्थिक वर्षमा ठूलो परिमाणको विकास बजेट खर्च गर्न सकेनन्।
प्रदेश लेखा इकाई कार्यालय वीरगन्जको तथ्याङ्कअनुसार, गत आवमा पर्सामा ८२ दशमलव ४८ प्रतिशत र बारामा ८५ दशमलव ८७ प्रतिशत मात्र बजेट खर्च भएको हो। दुवै जिल्लामा गरी करिब ७४ करोड रुपैयाँ खर्च हुन सकेन।
पर्सामा गत आवमा २ अर्ब १९ करोड ८५ लाख ९८ हजार ९ सय ९० रुपैयाँ विकास बजेट विनियोजन भएकोमा १ अर्ब ८१ करोड ३४ लाख ९९ हजार ७ सय ६२ रुपैयाँ मात्र खर्च भएको छ। त्यस्तै, बारामा २ अर्ब ३६ करोड ६८ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा २ अर्ब ३ करोड २४ लाख ६३ हजार २ सय २७ रुपैयाँ मात्र खर्च भएको हो।
पर्सामा जलस्रोत तथा सिँचाइ विकास डिभिजनको १६ करोड रुपैयाँ बजेटमध्ये १० करोड ८९ लाख ४५ हजार रुपैयाँ मात्र खर्च भएको छ। भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनलाई विनियोजित १७ करोड २५ लाख रुपैयाँमध्ये ७ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै, पूर्वाधार विकास कार्यालय पर्साको ९९ करोड ६ लाख रुपैयाँ बजेटमध्ये ८९ करोड ८ लाख रुपैयाँ खर्च भएको छ।
प्रदेश लेखा इकाई कार्यालय पर्साका प्रमुख श्यामउदय ठाकुरले विकास निर्माणका योजना समयमा ठेक्का नलाग्नु, बजेट खर्च प्रणाली पुरानो हुनु र खरिद प्रक्रिया लामो हुनु मुख्य कारण भएको बताए।

