Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बाउसे बालाई जिस्काउने अल्लारे १५ असार !

राष्ट्र आवाज by राष्ट्र आवाज
June 29, 2025
in समाचार
0
बाउसे बालाई जिस्काउने अल्लारे १५ असार !
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पल्लाघरे हजुरबा तन्नेरी हुँदा बाउसे गर्ने भनेपछि जुरुक्क हुन्थे, त्यसैले बुढो हुँदा पनि गाउँमा उनको नामै बाउसे बा हुन गयो । बाको २० मुरी धान फल्ने खेत अझै बाँकी छ । २० मुरी धान फल्ने भएकाले खेतको नाम बीसमुरे भयो । बीसमुरे खेतको नजिकै छ बाउसे बाको घर । तर गाउँका बाउसे बा र बीसमुरे मात्र बाँकी छन्, घर रित्तै छ । गाउँका अरू बुढाखाडाको जस्तै छोराबुहारी नातिनातिना कोही शहरमा छन्, कोही विदेशमा । शहरमा बाउआमासँगै बसेर स्कुल पढ्ने सानो नाति बिदामा घर आएको छ । मोबाइल चलाउँदै गरेको नातिले भन्यो– ‘हजुरबा, आज १५ असार रे हो ?’

‘हो बाबु हो ?’

‘खै त दही चिउरा ?’

‘ल ल अहिले हजुरआमाले दिइहाल्छे नि । अनि तँलाई दही चिउरा खाने दिन भनेर कसरी थाहा भएको नि ?’

‘यी के त यहाँ मोबाइलमा । दहीचिउरासँगै केरा, आँप, रसबरी, मिठाइ अनि कोल्ड ड्रिङ्क्स पनि खाने हो ?’

दहीचिउरासँग केरा र आँप त खाएको हो । मिठाइ र ड्रिङ्क्सको कुरा कहाँबाट मिसियो ! हजुरबा आश्चर्यमा परे ।

खै खै भन्दै बाउसे हजुरबाले नातिको मोबाइलमा फेसबुकका तस्वीर अनि टिकटक र रिलका भिडियो पालैसँग हेर्न थाले ।

टलक्क टल्केको प्लेटमा दही, चिउरा, आँपको चाना, केराको कोसा, अनि मुखै रसाउने मिठाई । सुकिलामुकिला लुगामा सजिएका एकथरी मान्छे सोफामा अढेस लगाएर दही चिउरा हुसुर्दै गरेका । अर्काथरी पाइन्ट स्याहार्दै हिलोमा पसेजस्तो गरेर रमाइरहेका । खेत रोप्न भन्दा जिस्किने र रमाइलो गर्ने मौका पर्खिएर बसेकाहरू हिलोमा दौडिँदै, लडिबुडी गर्दै, मोबाइलमा फोटो र भिडियो खिच्दै नाच्दै उफ्रिरहेका । धान फल्ने खेत मासेर घर ठड्याउनेहरू छतमा बसेर दहीचिउरासँग सेल्फी खिच्दै गरेका । कोही गमलामा चार त्यान्द्रा बेर्ना रोपेर मसक्क मस्कँदै गरेका । यता २० मुरी धान फल्ने खेत बाँझै छ, उता २० बित्ताको जग्गामा हिलो खेलेर रमाइलो गरिरहेका छन् । खेतमा धान रोप्ने खेताला पाउन मुश्किल छ, फेसबुकमा चाहिँ रोपाइँ गर्नेहरूको ताँती ।

आफ्नो पालाको १५ असार अब अल्लारे भएछ भन्दै बाउसे बा खेततिर हिँडे । खेतमाथिको ढुङ्गोमा टुक्रुक्क बसे । बीसमुरेमा बीसौं वर्षअघि २० मुरी धान भित्र्याउने चुरीफुरी र तागत अहिले छैन । उ बेला यतिखेरसम्म हिलोआली सकेर रोपाइँका लागि ठिकठाक भैसक्ने खेत केही वर्षदेखि बाँझै छ । काम गर्ने उमेरका छोराबुहारी, नातिनातिना घर छाडेर हिडे । केही वर्षअघिसम्म गाउँकै अर्को मान्छेले अँधियामा धान रोपेको थियो । फलेको आधी दिन्थ्यो । बुढाबुढीलाई मज्जाले पुग्थ्यो । अहिले त अँधिया गर्नेले पनि खेती गर्न छोडे । खेतको धानमा भन्दा अरू नै काममा धेरै कमाइ हुन्छ रे । भारोपर्म गर्न पनि सकिँदैन । शहरमा बस्ने छोराबुहारी बेलाबेला धान, चामल छ त भनेर सोध्छन्, तर रोपाइँ गर्न आउँ भनेर सोध्दैनन् । काम नगर्नुस् चाहिँ भनी टोपल्छन् । काम गर भने पनि कसले गर्न सक्छ र ?

काम गर्ने तागत भएको भए खेतको हालत यस्तो हुन्थ्यो र ! अहिलेसम्म हिलोआली सकेर रोप्न ठिक्क भैसक्थ्यो । यतापट्टि बीउ उखेल्दै गरेका ब्याडे । उतापट्टि चार हलगोरु साउँदै गरेका हली । पछिल्तिर बाउसे र रोपार । कुलोबाट खेतमा छङछङ गर्दै बगेको पानी । बाउसे र रोपारको हाँसीमजाक, अनि हिलो छ्यापाछ्याप । सिमसिम परिरहेको पानीमा असारे गीतको भाका । असारे भाका सुन्दै र हिलोमा लड्दै ब्याडेले उखेलेको बीउ ओसार्नुको बेग्लै मज्जा । चट्ट मिलाएर तासेको आली कान्ला । बाउसेले सम्याएको छिपछिपे हिलोमा रोपाइँ सकेपछि यही ठूलो ढुङ्गामाथि बसेर दही चिउरा खाइन्थ्यो । ठेकीको बाक्लो दही, आफैँले ढिँकीमा कुटेको धानको चिउरा, अनि आफ्नै बारीको मालभोग केरा । अलिअलि हिलोको सुगन्ध आइरहेको हातले टपरीमा मुछेर खानुको स्वाद । बाउसे बाले घुटुक्क थुक निले र खुइय सुस्केरा हाल्दै घरतिर फर्किए ।

घर फर्किंदा नाति आँगन छेउको धाराको डिलमा मोबाइल राखेर झार उखेल्दै हिलोमा उफ्रँदै रहेछ ।

‘हो बाबु, अब त्यो झारलाई हिलोमा गाडेर एउटा सेल्फी खिचेर पठाउ त, म यहाँ टिकटकमा राख्छु’ उताबाट आमाले छोरालाई सिकाउँदै थिइन् ।

Previous Post

भ्रष्टाचार मुद्दामा निलम्बित सांसद बस्नेत अदालत हाजिर

Next Post

प्रभु साहले रोष्ट्रमबाटै च्याते संघीय निजामती सेवा विधेयक

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रभु साहले रोष्ट्रमबाटै च्याते संघीय निजामती सेवा विधेयक

प्रभु साहले रोष्ट्रमबाटै च्याते संघीय निजामती सेवा विधेयक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l