काठमाडौं : भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग राख्दै रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्। विनियोजन विधेयकमाथिको विभिन्न शीर्षकमाथिको छलफलका लागि बसेको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाले उठेर विरोध जनाएका हुन्।
भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले यसको छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग राख्दै दुई दलले निरन्तर सदनमा विरोध गर्दै आएका छन्।
बैठक सुरू हुनेवित्तिकै दुई दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम साहलाई बोल्न समय दिएका छन्। उनले भिजिट भिसा प्रकरण सामान्य विष नभएकाले घटनाको छानबिन र अनुसन्धानका लागि विशेष समिति गठन गर्नुपर्ने माग गरे। उनले साना दलहरूलाई कमजोर नठान्न चेतावनी समेत दिए।

