वीरगंज – राज्य व्यवस्था तथा सुशासन समितिले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको विधेयक पारित गरेको छ । सरकारले ल्याएको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पारित गरेको समिति सभापति रामहरि खतिवडाले बताउनुभयो ।
उहाँका अनुसार विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था छन् । पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य हुन्थ्यो ।
आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानून नहुँदा नागरिकताविहीनको सङ्ख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।
यसैबीच सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले एनआरएन नागरितासम्बन्धी छुट्टै ऐन निर्माण गर्ने र नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गरिने बताउनुभएको हो ।
परराष्ट्र मन्त्रालयको नेतृत्वमा ऐन निर्माण भइरहेको गृहमन्त्रीकाे भनाइ छ । उहाँले गोरखा सैनिकका समस्या समाधान गर्नका लागि नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न लागिएको समेत स्पष्ट पार्नुभएको छ ।