छठघाटमा ठूलो आवाजमा डिजे बजाएर ध्वनि प्रदूषण गर्नुका साथै सार्वजनिक स्थलमा अशान्ति फैलाएको आरोपमा प्रहरीले पर्सामा पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१७ स्थित केहुनिया र वडा नम्बर १९ को बर्वा तिलावे पुलस्थित छठघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ का २२ वर्षीय रोशन पटेल र २५ वर्षीय चन्दन पटेल तथा वडा नम्बर १० का २७ वर्षीय पृथ्वी कार्की रहेका छन् ।
त्यसैगरी, बाराको प्रसौनी गाउँपालिका–३ का ३५ वर्षीय दिनेश पटेल र वडा नम्बर २ का २८ वर्षीय मन्जुर हवारी पनि पक्राउ परेका छन् ।
सार्वजनिक स्थलमा अत्यधिक आवाजमा डिजे बजाएर ध्वनि प्रदूषण गर्ने, अशान्ति फैलाउने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई प्रहरी कार्यालयमा राखेर कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

