लगातारको वर्षाका कारण सप्तरीका दुई स्थानीय तहमा बाढी पस्दा करिब पाँच सय घर डुबानमा परेका छन् ।
बाढीका कारण दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न बस्तीमा बाढी पसेको हो। हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा ४८३ घर डुबानमा परेका छन्।
त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा बाढी पस्दा थप १७ घर डुबानमा परेका छन्। बाढीका कारण ती क्षेत्रका दुई हजारभन्दा बढी परिवार प्रभावित भएको जनाइएको छ।
सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा बाढी पसेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो।
उहाँका अनुसार बाढी प्रभावितलाई सुरक्षित स्थानमा सार्ने तथा तत्काल खानाको व्यवस्था गर्ने काम भइरहेको छ। पानीको सतह घटेपछि प्रभावित परिवारको पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो।
लगातारको वर्षा र नदीमा पानीको सतह बढिरहेकाले स्थानीयवासीलाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ।

