साउदी अरबको महत्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइनमा बिहीबार ड्रोन आक्रमण भएपछि यसको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ ।
आक्रमणका क्रममा पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानबाट पाइपलाइन प्रणालीमा क्षेप्यास्त्र वा ड्रोनबाट आक्रमण भएको देखिएको छ । एक अमेरिकी अधिकारीले आक्रमणमा प्रयोग भएका ड्रोन इराकबाट आएको हुन सक्ने बताएका छन्। यद्यपि, आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूह वा पक्षले औपचारिक रूपमा लिएको छैन ।
साउदी ऊर्जा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा पाइपलाइनमा ‘धेरैपटक आक्रमण’ भएको जनाएको छ। आक्रमणबाट केही मानिस घाइते भएको तथा सुरक्षाका लागि पाइपलाइनको सञ्चालन रोकिएको मन्त्रालयले जनाएको छ।
पाइपलाइनको अवस्था मूल्याङ्कन गर्न तथा आवश्यक सुरक्षा उपाय अपनाउन सम्बन्धित टोली परिचालन गरिएको पनि मन्त्रालयले जनाएको छ।
साउदी विदेश मन्त्रालयले रियाद र मदिना क्षेत्रमा रहेको ईस्ट–वेस्ट पाइपलाइनमा इराकबाट आएका धेरै ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ। आक्रमणबाट केही मानिस घाइते हुनुका साथै भौतिक क्षति भएको र क्षतिग्रस्त संरचनाको मर्मत भइरहेको मन्त्रालयको भनाइ छ।
तत्काल प्रतिकार नगर्ने साउदी निर्णय
आक्रमणपछि साउदी अरबले तत्काल प्रतिकार नगर्ने निर्णय गरेको छ। इराकका प्रधानमन्त्रीले आफ्नो भूमिबाट साउदी अरब तथा अन्य छिमेकी मुलुकमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएपछि इराकी सरकारलाई त्यसका लागि अवसर दिन तत्काल प्रतिकार नगरेको साउदी पक्षले जनाएको छ।
इराक सरकारले पनि घटनाको निन्दा गर्दै आक्रमणमा संलग्न व्यक्तिको पहिचान गर्न तत्काल अनुसन्धान सुरु गर्न आदेश दिएको जनाएको छ।
इराकी सरकारी समाचार संस्था आईएनएका अनुसार इराकले आफ्नो भूभाग वा हवाई क्षेत्रलाई कुनै पनि देशमाथि आक्रमणका लागि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छ।
पम्पिङ स्टेसनमा ठूलो क्षति
उपग्रहबाट खिचिएका तस्बिरमा पाइपलाइनका केही पम्पिङ स्टेसनमा ठूलो आगलागी भएको देखिएको छ। अल–मिस्बाह नजिकको एउटा पम्पिङ स्टेसनमा व्यापक आगलागी भएको देखिएको छ भने अल–धेक्ट्रा क्षेत्रमा रहेको अर्को स्टेसनमा बिहीबार बाक्लो कालो धुवाँसहित आगलागी भएको तस्बिर सार्वजनिक भएका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार पम्पिङ स्टेसनमा भएको क्षति मर्मत गर्न तुलनात्मक रूपमा कम समय लाग्न सक्छ। तर पाइपलाइनमै ठूलो क्षति पुगेको भए मर्मत प्रक्रिया थप जटिल हुन सक्ने उनीहरूको भनाइ छ।
क्षति पूर्ण रूपमा मर्मत गर्न कति समय लाग्छ भन्नेबारे भने अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
होर्मुज संकटपछि बढ्यो पाइपलाइनको महत्व
अमेरिका–इरान युद्धका कारण स्ट्रेट अफ होर्मुजबाट हुने तेल ढुवानी प्रभावित भएपछि साउदी अरबका लागि ईस्ट–वेस्ट पाइपलाइनको महत्व अझ बढेको छ।
इरानले स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल ढुवानी प्रभावकारी रूपमा अवरुद्ध गरेपछि साउदी अरबले फारसको खाडी हुँदै निर्यात हुने ठूलो परिमाणको तेललाई वैकल्पिक मार्गबाट पठाउन ईस्ट–वेस्ट पाइपलाइन प्रयोग गर्दै आएको छ।
यो पाइपलाइनमार्फत तेललाई लाल सागरस्थित यान्बु बन्दरगाहतर्फ पठाउने गरिएको छ। यसले होर्मुज जलडमरूमध्यमा हुने सम्भावित अवरोधबाट साउदी तेल निर्यातलाई केही हदसम्म सुरक्षित राख्न मद्दत गर्छ।
तर यमनमा इराननिकट हुथी समूहले लाल सागर हुँदै बाब अल–मन्देब क्षेत्रबाट जाने साउदी तेलवाहक जहाजलाई निशाना बनाउने चेतावनी दिँदै आएको छ। यसका कारण साउदी अरबको तेल निर्यातको वैकल्पिक मार्गसमेत जोखिममा पर्न सक्ने चिन्ता बढेको छ।
पाइपलाइनमाथिको पछिल्लो आक्रमणले मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा पूर्वाधारसम्म फैलिँदै गएको संकेत गरेको छ। क्षेत्रीय तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत यसै साता प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।
इरानसँगको युद्धका क्रममा इरानसमर्थित इराकी मिलिसिया तथा यमनका हुथी समूहलाई आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न प्रयोग गर्न सक्ने चेतावनी यसअघि नै अमेरिकी अधिकारीहरूले दिएका थिए।
पछिल्लो घटनाले साउदी अरबको तेल उत्पादनभन्दा पनि तेल निर्यात गर्ने पूर्वाधारको सुरक्षामाथि बढ्दो जोखिम देखाएको छ। विश्व बजारमा ठूलो हिस्सा तेल आपूर्ति गर्ने साउदी अरबको तेल पूर्वाधारमा लामो समयसम्म अवरोध आएमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य थप बढ्नुका साथै आपूर्ति संकट गहिरिन सक्ने चिन्ता बढेको छ।

