विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गएको सन्दर्भमा प्राथमिक उपचारको ज्ञान र सीपको महत्वलाई उजागर गर्दै यो दिवस मनाउन लागिएको हो ।
नेपालमा पनि विपद्, बाढीपहिरो, अन्य आकस्मिक घटना तथा रोजगारी र अवसरको खोजीमा मानिसहरू विभिन्न स्थानमा बसाइँसराइ गर्ने गरेका छन् । बसाइँसराइका क्रममा विभिन्न जोखिम र स्वास्थ्यसम्बन्धी चुनौती सामना गर्नुपर्ने भएकाले प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप महत्वपूर्ण हुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा बसाइँसराइको यात्रा सहज नहुने उल्लेख गरेको छ। अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका सीमित अवसर, आधारभूत स्वास्थ्य सेवामा पहुँचको अभाव, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा तथा संस्कृतिसम्बन्धी अपरिचित अवस्था, भौगोलिक जानकारीको कमी र प्राथमिक उपचारसम्बन्धी प्रशिक्षणको अभावले बसाइँसराइ गर्ने व्यक्तिमा विभिन्न समस्या देखिन सक्ने रेडक्रसले जनाएको छ ।
यस्ता परिस्थितिमा एक्लोपन, चिडचिडाहट, थकान, मानसिक दबाब, स्वास्थ्य अवस्थामा गिरावट, बिरामीपन तथा मानसिक तनावजस्ता समस्या देखिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी बसाइँसराइ गर्ने व्यक्तिहरूले डिहाइड्रेसन, हाइपोथर्मिया, कुपोषण, अत्यधिक थकान, आघातजन्य चोटपटक, डुब्ने जोखिम, असुरक्षित काम गर्नुपर्ने अवस्था तथा मनोवैज्ञानिक पीडाजस्ता जोखिम पनि सामना गर्नुपर्ने हुन सक्छ। बसाइँसराइका विभिन्न चरणमा शारीरिक तथा मनोवैज्ञानिक दुर्व्यवहार र हिंसाको जोखिमसमेत रहने रेडक्रसले जनाएको छ।
यस्तो अवस्थामा प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीपले घाइते वा बिरामीको तत्काल उद्धार गर्न, स्वास्थ्य अवस्था थप बिग्रन नदिन तथा जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल रेडक्रसको भनाइ छ।
महामारी, दुर्घटना, विपद्, द्वन्द्व तथा अन्य आकस्मिक परिस्थितिमा प्राथमिक उपचार सेवाको आवश्यकता निरन्तर बढिरहेको रेडक्रसले जनाएको छ। हालैको भोटेकोशी बाढीका क्रममा नेपाल रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले प्राथमिक उपचार, मनोवैज्ञानिक प्राथमिक उपचार तथा प्रतिकार्यका अन्य गतिविधिमार्फत मानवीय सेवा प्रदान गरेको उदाहरणले पनि प्राथमिक उपचारको महत्व थप पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारका सुरक्षा निकाय, संयुक्त राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था, कूटनीतिक नियोग, औद्योगिक तथा व्यावसायिक क्षेत्रलगायत सरोकारवालासँग समन्वय र साझेदारी गर्दै प्राथमिक उपचारसम्बन्धी प्रवर्द्धनात्मक प्रशिक्षण तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
सबै नागरिकमा प्राथमिक उपचारको पहुँच पुर्याउने उद्देश्यले रेडक्रसले प्राथमिक उपचारको ज्ञान, सीप र अभ्यासलाई व्यापक बनाउन जोड दिएको छ।
विश्व प्राथमिक उपचार दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नारालाई आत्मसात् गर्दै प्राथमिक उपचारको ज्ञान र सीपलाई व्यापक बनाउन तथा ‘हरेक घरमा एक प्राथमिक उपचारकर्ता’ भन्ने अभियानलाई सार्थक बनाउन सबैलाई आह्वान गरेको छ।
रेडक्रसले जीवन रक्षा अभियानमा योगदान पुर्याउने सम्पूर्ण प्राथमिक उपचार प्रशिक्षक तथा स्वयंसेवकप्रति उच्च सम्मान व्यक्त गर्दै धन्यवादसमेत दिएको छ।

