काठमाडौं — नेपाली कांग्रेस बारा जिल्लामा आन्तरिक विवाद झन् गहिरिँदै गएको छ। बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार श्यामबाबु गुप्ताले जिल्ला सभापति राजेश राय यादवसहित सात जनामाथि अनुशासनात्मक कारबाहीको माग गरेका छन्।
गुप्ताले प्रतिनिधिसभा निर्वाचनका क्रममा असहयोग भएको आरोप लगाउँदै पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन्। उनले सभापति यादवलगायत नेताहरूले आफूलाई हराउन सक्रिय भूमिका खेलेको दाबी गरेका छन्। सोही आधारमा उनीहरूलाई पार्टी सदस्यताबाट निलम्बन गर्न माग गरिएको छ।
उजुरीमा जिल्ला उपसभापति अमेरिला पाल र संविधानसभा सदस्य शोभाकर पराजुलीको नाम पनि समावेश छ। यसका साथै क्षेत्र नम्बर ४ का सभापति सुनिल गुप्ता, पूर्व महाधिवेशन प्रतिनिधि कृवष व्रत सिंह, बारा–४ (ख) का सभापति सुमनकुमार भट्टराई तथा जितपुर–सिमरा नगर कार्यसमिति सभापति छाबिलाल शर्मामाथि पनि कारबाही हुनुपर्ने माग गरिएको छ।
यसअघि बारा–२ का उम्मेदवार भैयाराम प्रसाद यादवले पनि जिल्ला सभापति यादवलाई पार्टीबाट निष्कासन गर्न माग गरेका थिए। त्यस्तै, बारा–३ क्षेत्रीय कार्यसमितिले समेत सभापतिसहित १६ जनामाथि निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै केन्द्रीय नेतृत्वसमक्ष सिफारिस गरिसकेको छ।
लगातार उठिरहेका आरोप र उजुरीहरूले बारा कांग्रेसभित्रको गुटगत विवाद सतहमा आएको देखिएको छ। अब पार्टी केन्द्रीय नेतृत्वले यस विषयमा के निर्णय लिन्छ भन्ने प्रतीक्षा गरिएको छ।

