चितवनमा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी, चितवन शाखाले जिल्लाभर रक्तदानका कार्यक्रमहरू सञ्चालन गर्न विशेष अपिल गरेको छ।
जिल्लाका अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको तर सोही अनुपातमा रगतको मौज्दात नहुँदा उपचार प्रक्रिया प्रभावित हुन थालेपछि रेडक्रसले यस्तो आह्वान गरेको हो। शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा निर्वाचनपछिको समयमा रक्तदान कार्यक्रमहरू ठप्पजस्तै हुँदा संकट चुलिएको उल्लेख गरिएको छ।
हाल चितवनका विभिन्न अस्पतालहरूमा दैनिक करिब १५० युनिट रगतको माग हुने गरेको छ। विशेषगरी भरतपुरस्थित मेडिकल कलेजहरू, भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जटिल शल्यक्रिया तथा उपचार हुने भएकाले रगतको माग उच्च रहेको छ।
क्यान्सरका बिरामीहरूलाई नियमित रूपमा रगत आवश्यक पर्ने भए पनि हाल माग अनुसार आपूर्ति हुन नसक्दा बिरामीका आफन्तहरू रगत खोज्दै भौँतारिनुपर्ने अवस्था सिर्जना भएको छ।
प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार केन्द्रमा रगतको मौज्दात शून्यप्रायः भएपछि बिरामीका आफन्तले नै रक्तदाता खोजेर ल्याउनुपर्ने बाध्यता रहेको छ। सुत्केरी, दुर्घटनाका घाइते तथा आकस्मिक शल्यक्रियाका बिरामीहरूका लागि समेत रगत जुटाउन कठिन भइरहेको उनले बताए।
बाहिरका जिल्लाबाट उपचारका लागि चितवन आएका बिरामीहरू समेत रगत अभावका कारण शल्यक्रिया कुर्न बाध्य भएका छन्। यस्तो अवस्थामा नेपाल रेडक्रस सोसाइटीले सामाजिक संघसंस्था तथा स्वयंसेवी रक्तदाताहरूलाई तत्काल रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ।
रेडक्रसले समयमै रक्तदान कार्यक्रम सञ्चालन भएमा बिरामीहरूको उपचारमा सहजता आउने विश्वास व्यक्त गरेको छ।

