काठमाडौँ – पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
आज (सोमबार) बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्ग बाट अनियन्त्रित भई त्रिशूली नदी मा खसेको हो।
दुर्घटनामा परी हालसम्म १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिएका छन्। उनका अनुसार २४ जना घाइतेको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
मृतक तथा घाइतेहरूको सनाखत हुन बाँकी रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र हालसम्म यकिन कारण खुल्न सकेको छैन।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा उद्धार कार्य तीव्र रूपमा जारी छ। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमान्डमा टोली खटिएको छ भने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको जनाइएको छ।
उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

