मधेस प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरणका लागि तीनदिने सचेतनामूलक अभियान सुरु गरिएको छ ।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसर पारेर मधेसमा बढ्दो यौनजन्य हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
वीरगञ्जको घण्टाघरबाट पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालले अभियानको उद्घाटन गर्दै औपचारिक सुरुवात गरेका हुन् ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगरले यौनजन्य हिंसामुक्त समाज निर्माण गर्ने उद्देश्यले प्रहरीले अभियान सञ्चालन गरेको बताए ।
उनका अनुसार पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटनाहरू बढ्दै गएको देखिएको छ । यस्ता घटनाको न्यूनीकरणका लागि प्रहरी प्रधान कार्यालयको परिपत्रअनुसार तीनदिने सचेतनामूलक अभियान सुरु गरिएको उनले जानकारी दिए ।
यौनजन्य हिंसाका घटना नियन्त्रण गर्न समाजका सबै वर्गको सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले सबै पक्षसँग सहकार्य गरेर अभियानलाई प्रभावकारी बनाइने बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराई, सशस्त्र प्रहरी प्रमुख मोहन क्षेत्री, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
अभियान उद्घाटनपछि घण्टाघरबाट सचेतनामूलक र्यालीसमेत निकालिएको थियो । नगरका विभिन्न भागको परिक्रमा गरेको उक्त र्याली पुनः घण्टाघरमै पुगेर समापन भएको थियो ।

