प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार बिहान ८:३० बजे बस्ने तय भएको पार्टी सचिव महेश बस्नेत ले जानकारी दिएका छन्।
ओलीलाई ज्यानसम्बन्धी अभियोगमा भक्तपुरको गुण्डुस्थित निवासबाट शनिबार बिहानै पक्राउ गरिएपछि पार्टीले आधिकारिक धारणा तय गर्न बैठक बोलाएको हो। सोही विषयमा छलफल गरी आगामी कार्यक्रम सार्वजनिक गरिने एमालेले जनाएको छ।
बस्नेतले एमालेले आजैदेखि देशव्यापी सडक प्रदर्शन सुरु गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत् उनले पछिल्ला घटनाक्रमले देशको राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता उत्पन्न गरेको बताएका छन्। “राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्वपूर्ण सूचक हो, तर अहिलेका घटनाले त्यो मान्यता कमजोर बनाएको छ,” उनले उल्लेख गरेका छन्।
उनले सुधन गुरूङ लाई गृहमन्त्री बनाउने निर्णयप्रति पनि असन्तुष्टि जनाउँदै सरकारमाथि अनुभवहीन र विवादित नेतृत्व अघि सारेको आरोप लगाएका छन्। साथै, ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउले राजनीतिक प्रतिशोधको संकेत दिएको उनको दाबी छ।
यसैबीच, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि दुवै नेतालाई पक्राउ गरिएको हो। आयोगले उक्त घटनामा राज्यको लापरवाहीका कारण १९ जना युवाको ज्यान गएको निष्कर्ष निकालेको थियो।
प्रहरीले दुवै नेतालाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला प्रहरी परिसरमा राखेको छ। पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई एमालेका कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेका थिए भने केही समय धकेलाधकेल र लाठीचार्जसमेत भएको बताइएको छ।
यस घटनाले देशको राजनीतिक वातावरण थप तनावपूर्ण बन्दै गएको छ। एमालेले आन्दोलनको चेतावनी दिएसँगै आगामी दिनमा राजनीतिक द्वन्द्व चर्किने संकेत देखिएको छ।

