पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकाली लगेको छ। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएर भद्रकाली पुर्याइएको हो।
यसअघि प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई पनि पक्राउ गरिसकेको छ। नयाँ सरकार गठन भएसँगै उच्चस्तरीय निर्णयअनुसार पूर्वपदाधिकारीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
नयाँ मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा ओली र लेखकलाई पक्राउ गरिएको सरकारी स्रोतले जनाएको छ।
उक्त आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई बुझाइएको थियो।
सरकारले आयोगको निष्कर्षका आधारमा जिम्मेवार ठहरिएका व्यक्तिमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

