काठमाडौं — नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट देखिएको छ। सोमबार सुनको भाउ प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ भने अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो एक साताको अवधिमा मात्रै सुनको मूल्य ३४ हजार रुपैयाँले घटेको छ। गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले सुनको मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ। विशेषगरी पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण कच्चा तेलको मूल्य बढ्दा अमेरिकी डलरको माग पनि उच्च बनेको छ। डलर बलियो बन्दै जाँदा लगानीकर्ताहरू सुन बेचेर नगद व्यवस्थापनतर्फ लागेका छन्, जसका कारण सुनको मूल्य घटिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
यस्तै, विश्वव्यापी रूपमा बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने दबाबले पनि सुन तथा चाँदीजस्ता धातुमा लगानी घटिरहेको छ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ११५ रुपैयाँले घट्दै ४ हजार ४२५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो।

