काठमाडौँ – पश्चिम एसियामा जारी द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढेपछि नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्भावनाको चर्चा चुलिएको छ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य वृद्धिका कारण दैनिक ठूलो घाटा बेहोर्नुपरेको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार डिजेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ५४ रुपैयाँले बढ्दा पनि निगमले १० रुपैयाँ मात्र बढाएको छ। पेट्रोलमा ३१ रुपैयाँ बढ्दा निगमले १५ रुपैयाँ मात्र मूल्य वृद्धि गरेको छ भने ग्यासमा २१६ रुपैयाँ वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको छ।
यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवका अनुसार पश्चिम एसियाको द्वन्द्वले नेपालमा आपूर्तिमा असर नपारोस् भनी खपत घटाउने उपायबारे एक चरणको छलफल भएको थियो। सो छलफलमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा पनि विचार गरिएको भए तापनि अहिलेसम्म ठोस निर्णय भएको छैन।
निगमले हाल नेपालको पेट्रोलियम आपूर्ति प्रणालीमा प्रत्यक्ष प्रभाव नपरेको र आपूर्ति सहज रहेको जनाएको छ। तर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर बढिरहेको अवस्थामा भविष्यमा समस्या नआओस् भनी खपत नियन्त्रणका तयारीमा जुटेको प्रवक्ता ठाकुरले बताए।

