वीरगञ्ज — हरिखेतान कलेजका विद्यार्थीहरूले प्रहरीको ज्यादतीको विरोध गर्दै आइतबार घण्टाघर चौकमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले क्याम्पस परिसरभित्रै प्रवेश गरेर प्रहरीले आफूहरूमाथि लाठी प्रहार गरेको आरोप लगाएका छन्। क्याम्पस ड्रेसमै रहेका विद्यार्थीमाथि पर्साका डिएसपीको नेतृत्वमा आएको प्रहरी टोलीले लाठीचार्ज गरेको भन्दै उनीहरूले सम्बन्धित डिएसपी, क्याम्पस प्रमुख तथा व्यवस्थापनसँग आबद्ध व्यक्तिहरूमाथि कारबाहीको माग गरेका छन्।
आजदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को टर्मिनल परीक्षा कलेज प्रशासनले अन्तिम समयमा आएर रद्द गरेपछि विद्यार्थी आन्दोलित भएका हुन्। त्यसको विरोधमा विद्यार्थीहरूले क्याम्पस परिसरमै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा केही विद्यार्थी तोडफोडमा उत्रिएपछि सामान्य ठेलमठेल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। तर विद्यार्थीहरूले भने कलेज प्रशासनकै लापरवाहीका कारण स्थिति बिग्रिएको र प्रहरीले अत्यधिक बल प्रयोग गर्दै आफूहरूमाथि कुटपिट गरेको आरोप लगाएका छन्।
विद्यार्थीहरूको विरोधका कारण घण्टाघर क्षेत्रको मुख्य सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने अवस्था सामान्य बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

