काठमाडौं । विशेष अदालतले सन्तोष चालिसे लाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइराला को इजलासले चालिसेलाई नगद ५ लाख रुपैयाँ वा सो बराबर बैंक जमानतमा छोड्न आदेश दिएको हो। अदालतले आदेशमा भनेको छ, “पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल चालिसेबाट ५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबर बैंक जमानत लिएर उनलाई तारेखाम राखी प्रस्तुत मुद्दा पूर्पक्ष गर्नू।”
चालिसे २०७९ सालको प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए भने २०७४ सालको स्थानीय तह चुनावमा गोकर्णेश्वर नगरपालिका को मेयर निर्वाचित भएका थिए।
नगर प्रमुख हुँदा गैरकानुनी तरिकाले रकम आर्जन गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ले मंसिर २८ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। अख्तियारले बिगो दाबी गर्दा ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ कायम गरेको थियो।
अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा चालिसेलाई पुर्पक्षका लागि थुनामा राख्न आवश्यक नभएको ठहर गर्दै उनलाई धरौटी मागेको हो। चालिसेले अदालतमा गैरकानुनी रकम आम्दानी नगरेको भन्दै इन्कारी बयान पनि दिएका छन्।

