काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले गठनको गृहकार्य तीव्र पारेको छ। निर्वाचन आयोगले समानुपातिक सिट टुंगो लगाएसँगै पार्टीले प्रत्यक्ष १२५ र समानुपातिक ५७ सिट जितेको छ।
रास्वपाले आफ्नो पार्टी विधान संशोधन गरी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरी प्रधानमन्त्री नियुक्ति प्रक्रियामा अघि बढाउने तयारी गरिरहेको छ। यसअन्तर्गत हालसम्मको विधानअनुसार साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था संशोधन गर्ने तयारी भइरहेको छ।
२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा १८२ सांसद भएको अवस्थामा रास्वपा संसदीय दलको नेता चयन भएपछि राष्ट्रपतिले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुनेछ। पार्टी शीर्ष नेतृत्वको सल्लाहमा सचिवालय बैठक र केन्द्रीय समिति बैठक बोलाएर विधान संशोधन गर्ने प्रक्रियामा लागिएको रास्वपाले जनाएको छ।
समानुपातिक प्रणालीतर्फ निर्वाचित हुने उम्मेदवारको नाम तीन दिनभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले रास्वपाले ५७ सांसदको नाम टुंगो लगाउने तयारी गरेको छ। समानुपातिक सांसदले प्रमाणपत्र पाएलगत्तै चैत ५ भित्रै संसदीय दलको नेता चयन, प्रधानमन्त्रीको शपथ ग्रहण र मन्त्रिपरिषद् गठन गर्ने कार्य अघि बढ्ने पार्टीले जनाएको छ।
