काठमाण्डाै —श्रीलङ्कालाई हराए पनि पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइलनमा पुग्न असफल भएको छ ।
श्रीलङ्काको पल्लेकेलेमा हिजो भएको खेलमा पाकिस्तानले घरेलु टोलीलाई ५ रनले हरायो। पाकिस्तानले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन मात्रै बनाउन सक्यो। श्रीलङ्काका कप्तान दसुन शनाकाले नटआउट ७६ रन बनाए भने पवन रथनायकेले ५८ रन जोडे। पाकिस्तानका अब्रार अहमदले ३ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो। पाकिस्तानका शाहिबजादा फरहानले शतक प्रहार गर्दै १०० रन बनाए भने फखर जमानले ८४ रन जोडे। श्रीलङ्काका दिनशान मदुशन्काले ३ विकेट लिए।
सेमिफाइनलमा पुग्न पाकिस्तानले श्रीलङ्कालाई १ सय ४५ रनभित्र रोक्नुपर्ने समीकरण थियो। तर आवश्यक अन्तरले जित हासिल गर्न नसकेपछि ‘सुपर–एट’ को समूह २ बाट न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली नेट रनरेटका आधारमा सेमिफाइनलमा प्रवेश गरेको छ। यसअघि नै इङ्ग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली सोही समूहबाट अन्तिम चारमा पुगिसकेको थियो। श्रीलङ्का यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो।
आज ‘सुपर–एट’ का अन्तिम दुई खेल हुँदैछन्। पहिलो खेलमा जिम्बावे र दक्षिण अफ्रिका तथा दोस्रो खेलमा भारत र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ। यस समूहबाट दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली सेमिफाइनलमा पुगिसकेको छ। भारत र वेस्ट इन्डिजबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्नेछ भने जिम्बावे यसअघि नै बाहिरिइसकेको छ।
प्रतियोगिताको १०औँ संस्करणको फाइनल खेल आउँदो आइतवार फागुन २४ गते हुने तालिका छ।

