काठमाण्डाै — मध्यपूर्व क्षेत्रमा उत्पन्न पछिल्लो तनावपूर्ण अवस्थालाई लिएर विभिन्न राजनीतिक दल र शीर्ष नेताहरूले सरकारसँग त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त रूपमा चिन्ता व्यक्त गर्दै खाडी तथा मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपालीको सुरक्षा, जीवन र रोजगारीप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्।
कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल तथा रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरूले विकसित घटनाक्रमकाबीच लाखौँ नेपालीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको हो। उनीहरूले अवस्थाबारे नियमित र तथ्यगत जानकारी सार्वजनिक गर्न तथा आवश्यक परे उद्धार योजना तयार राख्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
यसैबीच संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेको र त्यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
परिस्थिति थप जटिल बन्दै गएपछि नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई घरभित्रै बस्न र सुरक्षित रहन अनुरोध गरेको छ। परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै सम्बन्धित देशका सुरक्षा निकायले दिएका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै इजरायल वा इरान भ्रमण गर्ने योजना बनाइरहेका नेपाली नागरिकलाई अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न मन्त्रालयले अपिल गरेको छ।
सरकारले आवश्यक परे दूतावासमार्फत समन्वय र सहजीकरण गर्ने जनाएको छ।

