पर्सा निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले मंगलबार वीरगञ्ज महानगर र पर्सागढी नगरपालिकाका विभिन्न वडामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता र समर्थकहरूको व्यापक सहभागिता रहेको थियो। चौरसियाले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २७ का जसौली र उदयपुरघुर्मी, साथै पर्सागढी नगरपालिकाको वडा नम्बर ५ पचरुखी र वडा नम्बर ८ हरपुरमा घरदैलो गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो।
कार्यक्रमको क्रममा चौरसियाले जेनजी आन्दोलनका बेला देशमा आगो लगाउने घटनामा पार्टीहरूको नाम गलत तरिकाले जोडिएको भन्दै आफ्नो स्पष्ट अभिव्यक्ति दिनुभयो। उहाँले भन्नुभयो, “कांग्रेस देश र नेताहरूको घर जलाउने पार्टी होइन। जेनजी आन्दोलनमा घुसपैठ गरेर देश जलाउने को थिए? सर्वोच्च अदालत, सिंहदरबार, पार्टी कार्यालय र नेताका घरहरू जलाउने को थिए? ती घुसपैठी थिए। देश जलाउनेहरूलाई जनताले चिन्नुभएको छ र यस चुनावमा जनताले इन्साफ गर्नेछन्।”
उहाँले वर्तमानमा देश जलाउने र त्यसमा खुशी मनाउनेहरूले अहिले समृद्धिका भाषण गर्दै हिँड्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो। चौरसियाले आफ्नो पार्टीको नेतृत्वमा मुलुकले हासिल गरेको विकासका उपलब्धिहरू स्मरण गराउँदै पर्सा जिल्लामा बनेका ठूला पुल, पक्की सडक, विद्यालय र अस्पताल जस्ता संरचनाहरू कांग्रेसकै पालामा निर्माण भएको जनतामा स्मरण गराउनुभयो।
यसै क्रममा उम्मेदवार चौरसियाले फागुन २१ को निर्वाचनमा कांग्रेसलाई जिताउन र आफ्नो विश्वास व्यक्त गर्न मतदातालाई आग्रह गर्नुभएको थियो।
घरदैलो कार्यक्रममा वीरगञ्ज–१७ का वडाध्यक्ष हृदयनारायण कुर्मी, पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव, कामेश्वर मिश्रा लगायतका स्थानीय नेताहरूको पनि सहभागिता रहेको थियो। स्थानीयहरूले उम्मेदवारसँग प्रत्यक्ष भेटेर आफ्नो समर्थन र अपेक्षा व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय जनतामा चुनावी उत्साह स्पष्ट देखिन्थ्यो र कांग्रेस उम्मेदवार चौरसियाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा स्पष्ट पार्नुभएको थियो।

