काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी तुरुन्तै मतगणना सुरु गरिनेछ। प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको उनले बताए। समानुपातिकतर्फ भने एक–दुई दिन लाग्न सक्ने आयोगको भनाइ छ।
आयोगले चुनाव तयारीका सबै आवश्यक व्यवस्थापन पूरा भइसकेको र कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जनाएको छ। यही २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभर मतदान हुने कार्यक्रम छ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन अवधिमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना नफैलाउन आग्रह गर्दै जिम्मेवार व्यवहार देखाउन सबै पक्षलाई अपिल गरेका छन्। उनले राजनीतिक दलहरूलाई निषेधको राजनीति नगर्न र शान्तिपूर्ण वातावरण कायम गर्न समेत चेतावनी दिएका छन्।
आयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याएको छ।

