बैतडी । बैतडीमा अर्का एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। यससँगै पछिल्लो एक महिनाको अवधिमा जिल्लामा मृत्यु हुने निर्वाचन प्रहरीको संख्या तीन पुगेको छ।
सोमबार मेलौली नगरपालिका–६ का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडी का प्रवक्ता सुरज सिंह का अनुसार भट्ट इलाका प्रहरी कार्यालय मेलौली मा कार्यरत थिए।
सोमबार साँझ ड्युटी सकेर घर फर्किएका भट्ट घरमै एक्कासी बेहोस भएका थिए। बेहोस भएपछि उनलाई एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। तर स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मध्यराति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि बैतडीमा दुई निर्वाचन प्रहरीको मृत्यु भइसकेको छ। फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेतका ३८ वर्षीय महादेव वड घरमै अचेत भएर ढलेपछि मृत्यु भएको थियो।
त्यसैगरी गत माघ २० गते दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्द तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर ज्यान गुमाएका थिए। लगातार निर्वाचन प्रहरीको मृत्यु भएपछि जिल्लामा चिन्ता बढेको छ।

