काठमाडौं। सरकारले आगामी निर्वाचनका क्रममा तराई क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलताको अध्ययन तथा अनुगमनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदी लाई खटाएको छ।
शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकको निर्णयअनुसार गृह मन्त्रालयले तराई क्षेत्रको सुरक्षा अवस्था विश्लेषण गरी प्रतिवेदन तयार पार्न निर्देशन दिएको हो। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्ले ले निर्वाचनका क्रममा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा जोखिमको मूल्याङ्कन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन एआईजी चतुर्वेदीलाई जिम्मेवारी दिइएको जानकारी दिए।
प्रवक्ता काफ्लेका अनुसार एआईजी चतुर्वेदी कार्यक्षेत्रमा खटिसकेका छन्। निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न संवेदनशील क्षेत्रमा सुरक्षा निकायका उच्च अधिकारीलाई डेडिकेटेड रूपमा परिचालन गरिनेछ।
सरकारले सुरक्षा अवस्थाको विस्तृत विश्लेषणसहित प्रतिवेदन पेश गर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै तराई क्षेत्रमा विशेष सुरक्षा रणनीति अपनाइने गृह मन्त्रालयले जनाएको छ।

