वीरगञ्ज। वीरगञ्जस्थित गौतम स्कुल द्वारा आयोजित तीनदिने “शाइनिङ स्टार्स–२०८२” कार्यक्रम तेस्रो तथा अन्तिम दिन भव्य र भावनात्मक वातावरणका बीच सम्पन्न भएको छ। कार्यक्रम विद्यालयकी निर्देशिका परीक्षा पिया लामाको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौँबाट आउनुभएका प्रशिक्षण विभाग (ईसीईसी) का सहायक विभाग प्रमुख सुमिन महर्जन रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा विद्यालयका निर्देशक सोनम लामा, रुङ्गटा ग्रुप अफ इन्डस्ट्रिजका निर्देशक नारायण रुङ्गटा, नेपाल मेडिसिटी अस्पताल का अस्थिरोग विशेषज्ञ डा. रञ्जन झा, स्नायु शल्यचिकित्सक डा. फिरोज अफजल, ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सुश्मिता यादव, विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री, रमेश शर्मा, कर्ण सर तथा जुनियर स्कुलका प्रिन्सिपल सिपेन्द्र गुप्ता लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
तेस्रो दिन “भव्य समापन” तथा यूकेजी कक्षाका विद्यार्थीहरूको दीक्षान्त समारोह विशेष आकर्षणको केन्द्र बनेको थियो। साना–साना विद्यार्थीहरूले दीक्षान्त टोपी र प्रमाणपत्रसहित नयाँ शैक्षिक यात्रातर्फ अघि बढ्ने प्रतिबद्धता जनाउँदै खुसीयाली साटासाट गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन, नाटक तथा विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो कला र क्षमता प्रस्तुत गरेका थिए। रंगीन पोशाक, आकर्षक मञ्च सजावट र सजीव सांस्कृतिक वातावरणले कार्यक्रमलाई थप विशेष बनाएको थियो। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति, सृजनात्मक सोच र अनुशासित सहभागिताले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
प्रमुख अतिथिले आफ्नो मन्तव्यमा शिक्षा केवल पाठ्यपुस्तकमै सीमित नहुने उल्लेख गर्दै यस्ता अतिरिक्त क्रियाकलापले बालबालिकाको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले अनुशासन, निरन्तर अभ्यास र सकारात्मक सोचका साथ अघि बढ्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।
अन्य वक्ताहरूले पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलाप अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे। यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास वृद्धि गर्नुका साथै उनीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याउने उनीहरूको भनाइ थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक सौराज प्रधानले प्रभावकारी ढङ्गले गर्नुभएको थियो। समग्रमा “शाइनिङ स्टार्स–२०८२” कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउन सफल भएको विद्यालय प्रशासनले जनाएको छ।

