माघ १६ – जनता समाजवादी पार्टी (जसपा)का वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादव नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
शुक्रबार वीरगन्ज महानगरपालिका–१५ मा आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवसहित सोही वडाका १२० जना नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य तथा वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगी, पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मालगायतका नेताहरूले स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै महानगर अध्यक्ष यादवले मधेसका बाँकी मुद्दाहरूको सम्बोधन अब एमालेले मात्र गर्न सक्ने विश्वास व्यक्त गरे। यही कारण जसपा परित्याग गरी एमालेमा प्रवेश गरेको उनले बताए।
उनले भने, “अहिले केही शक्ति विदेशीको इसारामा नेपालको राष्ट्रियता र लोकतन्त्र समाप्त गर्ने षड्यन्त्रमा लागेका छन्। त्यस्ता शक्तिको प्रतिवाद गर्ने राजनीतिक शक्ति अब यो मुलुकमा एमाले मात्रै छ। त्यसैले हामी एमालेमा प्रवेश गरेका हौं।”

