असोज २१ – असोज शुक्ल पूर्णिमासँगै आजदेखि कात्तिक महिनाभर गरिने कात्तिक स्नान, आकाशदीप दान तथा तुलसीको विशेष पूजा आराधना औपचारिक रूपमा सुरु भएको छ।
धार्मिक परम्पना अनुसार असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म बिहानै पवित्र स्नान गरी तुलसीको आराधना गर्ने, घर आँगनमा दीप प्रज्वलन गर्ने र आकाशदीप (आकाशमा बत्ती बाल्ने) दान गर्ने चलन छ।
विश्वास गरिन्छ कि यस महिनाभर यस्तो धार्मिक कार्य गर्ने व्यक्तिले सौभाग्य, सम्पत्ति र श्रेय प्राप्त गर्छन्।
आकाशदीप दानका लागि बाँस नपाएमा पलाँस, खयर वा पीपलको लिङ्गो ठड्याई दीप प्रज्वलन गर्ने परम्परा रहिआएको छ।
यसैबीच, दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व हिजो असोज शुक्ल पूर्णिमाको राति महालक्ष्मीको पूजा आराधना र जाग्रामसँगै सम्पन्न भएको छ।
महालक्ष्मीको व्रतका क्रममा भक्तजनहरूले मध्यरातमा देवी लक्ष्मीको पूजा गरी धन, धान्य र सम्पन्नताको कामना गर्छन्।
चन्द्रमाको आराधना गरी गरिने पूर्णिमा व्रतका लागि सूर्योदय र सायंकाल दुवै समयमा पूर्णिमा तिथि रहनुपर्ने भएकाले यस वर्ष व्रत आज परेको हो।

