भदौ २३ – प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेन–जी युवाले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको हो ।
भीड अनियन्त्रित बन्दै गएपछि प्रहरीले हस्तक्षेप स्वरूप गोली चलाएको हो । स्थानीयका अनुसार, प्रहरीको गोली लागेर झापाको कमल–५ निवासी प्रकाश भट्टराई घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र हाल दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
प्रहरीले दिएको जानकारीअनुसार प्रदर्शनकारीले नगरपालिका परिसरमा रहेका केही मोटरसाइकलमा आगजनी गर्नुका साथै सीसी क्यामेरा समेत तोडफोड गरेका थिए ।
झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले भीड नियन्त्रणबाहिर गएपछि ‘हवाई फायर’ गरेको जानकारी आएको बताएका छन् । उनले थप सुरक्षा टोली घटनास्थलतर्फ पठाइएको र अवस्था पूर्ण रूपमा यकिन भई नसकेको जानकारी दिए ।

