बिरगंज । सरकारले निःशुल्क घोषणा गरेको सामाजिक सुरक्षा भत्ता नवीकरण प्रक्रियामा जनप्रतिनीधीकै संरक्षणमा सेवाग्राहीमाथी आर्थिक शोषण भइरहेको समाचार प्राप्त भएको छ । वीरगंज महानगरपालिका वडा नं. ११, श्रीपुरको वडा कार्यलयमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पुगेका सेवाग्राहिमाथी आर्थिक शोषण भइरहेको खुलासा भएको छ । वडाध्यक्ष अजय कुमार चौरसियाको प्रत्यक्ष संरक्षणमा वडाका कर्मचारीहरूले सेवाग्राहीसँग अवैध शुल्क असुली गर्दै आएको स्थानवासीहरूको आरोप छ।
वडामा भत्ता नवीकरण गराउन आउने वृद्ध, एकल महिला, तथा अपाङ्गता भएका व्यक्तिहरूले अनावश्यक झन्झट भोग्नु परेको गुनासो गर्दै आएका छन्। पीडितहरूका अनुसार कर्मचारीहरूले नवीकरण प्रक्रियाका लागि खुलेआम एक सयदेखि दुई सय रुपैयाँसम्म माग्ने गरेका छन्। रकम नतिरेमा काम लम्ब्याउने वा अड्काउने धम्कीसमेत दिने गरिएको उनीहरूले बताएका छन्। “सरकारले निःशुल्क भनेको सेवा पाउनकै लागि हामीलाई कर्मचारीलाई पैसा तिर्न बाध्य बनाइएको छ,” भत्ता नवीकरणका लागि वडा कार्यालय पुगेका एक जेष्ठ नागरिकले गुनासो गरे।
वडा कार्यालयको तथ्यांक अनुसार, कुल ४ सय ८० जना सामाजिक सुरक्षा भत्ताका लाभग्राही रहेका छन्, जसमा ३ सय १४ जना जेष्ठ नागरिक, १ सय १८ जना विधवा महिला, २८ जना पूर्ण अपाङ्गता भएका व्यक्ति तथा २० जना अति अशक्त अपाङ्ग छन्। स्थानीय बासिन्दाहरूले वडाध्यक्ष चौरसियामाथि यस्तो गैरकानुनी कार्यमा प्रत्यक्ष संलग्न रहेको आरोप लगाउँदै तत्काल अनुसन्धान र कार्यवाहीको माग गरेका छन्। “सामाजिक सुरक्षा भत्ताजस्तो संवेदनशील विषयमा भ्रष्टाचार हुनु अमानवीय हो,” एक स्थानीय समाजसेवीले बताए।
यस विषयमा वडाध्यक्ष अजय कुमार चौरसियासँग सम्पर्क गर्न खोज्दा सम्भव भएन। यता, वीरगंज महानगरपालिका पंजिकरण विभाग प्रमुखले भने, “भत्ता नवीकरण पूर्ण रूपमा निःशुल्क प्रक्रिया हो। यदि वडाका कर्मचारीहरूले सेवाग्राहीसँग रकम लिएको पाइएमा छानबिन गरी दोषीलाई कडा कारबाही गरिने बताए।” वडावासीहरू अब महानगरपालिकासँगै जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिने तयारीमा छन्। यो विषयले स्थानीय सरकारप्रति आम जनताको भरोसा गुम्दै गएको स्पष्ट देखिएको छ।

