काठमाण्डाै – शुक्रवार मध्यराति कैदीबन्दीबीच झडप हुँदा तनावग्रस्त बनेको कैलालीको कारागार अझै पनि कैदीबन्दीको नियन्त्रणमै रहेको छ ।
झडप भएको केही समयमा सुरक्षाकर्मीले बल प्रयोग गरेर मृतकको शव र घाइतेहरूको उद्धार गरेको भए पनि हिजो बिहानैदेखि कैदीबन्दीले भित्रबाट ताला लगाएर सुरक्षाकर्मीलाई भित्र जान नदिएका हुन् । अहिले भित्रको अवस्था सामान्य रहेको भए पनि उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनलाई भित्र जान दिएका छैनन् ।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसँग कैदीबन्दीहरूले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाबाहेकका माथिल्लो तहका प्रतिनिधि आएपछि मात्र भित्र आउन दिने बताएका छन् । उनीहरूले कारागारको अवस्थाबारे यसअघि जानकारी गराए पनि स्थानीय प्रशासनले बेवास्ता गरेको बताएका छन् ।
साउन १४ गते कारागारमा रहेका ५ सय ९० जना कैदीबन्दीले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाउँदै कारागारभित्र आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेका थिए । आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कारागार विभागलगायतलाई पत्राचार गरेर उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए पनि प्रशासनले बेवास्ता गर्दा शुक्रवार राति जघन्य घटना भएको हो ।
झडपमा एक जनाको ज्यान जानुका साथै ४७ जना घाइते भएका थिए । उनीहरूमध्ये दुई जनाको आईसीयूमा उपचार भइरहेकोमा एक जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइसकेको र अर्का एक जनालाई पनि पठाउने तयारी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

