वीरगन्ज । सहकारी क्षेत्रका चुनौती र समाधानका उपायबारे छलफल गर्न आज वीरगन्जमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको आयोजनामा ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा भएको उक्त कार्यक्रममा सहकारी विभागबाट जारी भएको ‘एकीकृत निर्देशन २०८२’ माथि विस्तृत छलफल गरिएको हो।
संघका अध्यक्ष हरेराम प्रसादले वर्तमान आर्थिक तथा बैंकिङ क्षेत्र र सहकारीमा देखिएका समस्याहरूको पहिचान गर्न यस्ता कार्यक्रमको महत्त्व रहेको बताए। कार्यक्रममा विभिन्न सहकारी संस्थाका सञ्चालक, अध्यक्ष र प्रबन्धकहरूले आफ्ना अनुभव र चुनौतीहरू प्रस्तुत गरे।
राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक सदस्य शम्भु प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेश पण्डित, उपाध्यक्ष नंग नारायण सिंह, सचिव नरेश चौरसिया लगायत ५० भन्दा बढी सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ निर्देशनले सहकारी क्षेत्रमा पार्ने प्रभाव र यसबाट उत्पन्न हुन सक्ने समस्याबारे सुझावहरू दिएका थिए।

