पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका–२ मा अवस्थित मधुवनी पोखरी स्तर उन्नति तथा छठघाट निर्माणको काममा घुस मागिएको गम्भीर आरोप सार्वजनिक भएको छ। उपभोक्ता समितिका अध्यक्ष श्रीनिवास चौहानले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त आरोप लगाएका हुन्।
पर्यटन विकास कार्यालय बीरगंजको रु। ३० लाख ३५ हजार ९११ को लागतमा सम्पन्न भएको सो योजनाको कार्यान्वयनका लागि चौहान नेतृत्वको उपभोक्ता समितिले २०८१ साल चैत ४ गते सम्झौता गरी २०८२ साल असार १० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। यद्यपि, निर्माण कार्य निर्धारित समयभन्दा अगाडि नै २०८२ साल जेठ १६ गते सम्पन्न गरिएको अध्यक्ष चौहानले जानकारी दिए।
चौहानका अनुसार काम सम्पन्न गरेपछि भुक्तानी लिने क्रममा पकाहामैनपुरका अशोक साह तेली र उनका छोरा गणेश साह तेलीले रु। ३ लाख घुस मागेका थिए। उनले भने, भुक्तानीमा पनि केवल रु। २२–२३ लाख मात्र दिइयो, बाँकी रकमको विषयमा समेत अन्योल छ।
पत्रकार सम्मेलनमा चौहानले आफूले निर्माणको क्रममा शारीरिक तथा मानसिक पीडा खेप्नु परेको उल्लेख गर्दै, भ्रष्टाचारको भण्डाफोर गर्न बाध्य भएको जनाएका छन्। “धार्मिक तथा पवित्र स्थलजस्तो ठाउँमा समेत घुस माग्ने मानसिकता निकै निन्दनीय छ,” उनले भने।
उनले सो कार्यमा संलग्न रहेको आरोप लागेका बुवा–छोरालाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्।
उक्त पत्रकार सम्मेलनमा स्थानीय बासिन्दा जनार्दन प्रसाद यादव, राजु यादव, नेक महम्मद मियाँ, गौरीशंकर पाठक, दयाशंकर साह कलवार लगायतको उपस्थिति रहेको थियो।

