वीरगञ्ज । विगतमा हनुमान जयन्तीको अवसरमा वीरगञ्जको छपकैयामा देखिएको तनावपूर्ण अवस्थाबाट पाठ सिक्दै आगामी असार २२ गते आइतबार पर्ने मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व ‘ताजिया’ (दाहा) लाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न वीरगञ्ज महानगरपालिका र सुरक्षा निकायहरूले सक्रिय कदम चालेका छन् ।
यसै सन्दर्भमा, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार एक संयुक्त बैठक सम्पन्न भएको छ ।
बैठकले ताजिया पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । पर्वको आयोजनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षासहित बैठकले वीरगञ्जका विभिन्न वडाहरूबाट निकालिने ताजियालाई घण्टाघरमा जम्मा हुने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
प्रत्येक वडाबाट ताजिया निकाल्नका लागि संयोजन टोली गठन गर्दै असार २० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा आफ्नो विवरण बुझाउनुपर्ने निर्णय गरिएको छ । त्यस्तै ताजिया जुलुसमा शान्तिपूर्ण वातावरण कायम गर्न हातहतियार र डिजेको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ भने सुरक्षालाई ध्यानमा राख्दै बालबालिकालाई ताजिया जुलुसमा सहभागी नगराउने निर्णय पनि गरिएको छ ।
बैठकमा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विगतका घटनाहरूबाट पाठ सिकेर सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको जानकारी दिँदै कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायहरू पूर्ण रूपमा तयार रहेको बताए ।
मुस्लिम समुदायका अगुवाहरूले पनि ताजिया पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले स्थानीय सरकार र सुरक्षा निकायको पहललाई सकारात्मक रूपमा लिएका छन् ।
वीरगञ्ज महानगरपालिका र सुरक्षा निकायहरूको संयुक्त प्रयासले वीरगञ्जमा ताजिया पर्वलाई शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्ने आधार तयार भएको छ । विगतको तनावपूर्ण अवस्थाबाट पाठ सिक्दै स्थानीय सरकार, सुरक्षा निकाय र समुदायको सहकार्यले धार्मिक सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।
नगर प्रमुखको कार्यकक्षमा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभाग पर्साका प्रमुख सन्तोष ढुङ्गेलसहित मुस्लिम समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

