गुठी संस्थानअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका १५ वटा पोखरी तथा पोखरीका डिलमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउन आजदेखि डोजर चलाइने भएको छ ।
गुठी संस्थानले यसअघि सार्वजनिक सूचना जारी गर्दै १५ वटा पोखरी तथा पोखरी किनारमा भएको अतिक्रमण सात दिनभित्र स्वतःस्फूर्त रूपमा हटाउन निर्देशन दिएको थियो । उक्त समय बिहीबार सकिएसँगै अतिक्रमण हटाउने अभियानअन्तर्गत आजदेखि डोजर परिचालन गर्न लागिएको हो ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ कार्यान्वयन समितिले यसअघि पहिलो चरणमा सात वटा पोखरी तथा पोखरीका डिलमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइसकेको छ ।
प्रतिवेदन कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार अहिले सुरक्षा समितिको बैठक भइरहेको छ । बैठकपछि पोखरी तथा पोखरीका डिलमा रहेका अतिक्रमित संरचना हटाउने कार्यलाई अघि बढाइनेछ ।
‘कतिपय पोखरीमा स्थानीयवासीले आफैँ अतिक्रमित संरचना हटाइसकेका छन् । नहटाइएका संरचना हटाउन अब केहीबेरमा टोली जानेछ,’ पोखरेलले भने ।
अतिक्रमण हटाउने जिम्मेवारी
प्रतिवेदन कार्यान्वयन समितिलाई बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका पोखरी, पोखरीका डिल, रामजानकी मन्दिरलगायत प्रमुख मठ–मन्दिर तथा गुठीका जग्गामा भएका अतिक्रमण हटाई तिनको संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ अनुसार सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग, २०७६ को प्रतिवेदनमा उल्लेख भएका काम कार्यान्वयन गर्ने जिम्मेवारीसमेत दिइएको छ ।
त्यसैगरी गुठी जग्गासम्बन्धी अन्य विभिन्न प्रतिवेदनमा उल्लेख भएका कार्य कार्यान्वयन गर्ने जिम्मेवारी पनि समितिको रहेको छ।
जनकपुरधामका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पोखरी र गुठी सम्पत्तिमाथि लामो समयदेखि भइरहेको अतिक्रमण हटाएर संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको समितिले जनाएको छ ।
