काठमाडौं — संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन बोलाइएपछि सचिवालयले प्रतिनिधिसभा बैठकअघि सर्वदलीय छलफल तय गरेको हो।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार बुधबार दिउँसो १ बजे सर्वदलीय बैठक बस्नेछ। प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनुभन्दा एक घण्टा अघि उक्त बैठक आयोजना गरिनेछ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि तय गरिएको छ। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारका पदाधिकारी तथा संसद् सचिवालयका अधिकारीहरूको सहभागिता रहनेछ।
प्रतिनिधिसभाको पहिलो बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउनेछ। साथै, राजनीतिक सहमति भएमा शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने अभ्याससमेत रहनेछ।
यसपटकको २७५ सदस्यीय प्रतिनिधिसभामा ६ वटा दलले राष्ट्रिय मान्यतासहित प्रतिनिधित्व गरेका छन् भने एक स्वतन्त्र सांसद पनि निर्वाचित भएका छन्।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, नेकपा एमाले २५ सिटसहित तेस्रो र नेपाली कम्युनिष्ट पार्टी १७ सिटसहित चौथो स्थानमा रहेका छन्।
पहिलोपटक निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं दल बनेको छ। साथै, स्वतन्त्र उम्मेदवारका रूपमा महावीर पुन निर्वाचित भएका छन्।
नयाँ संसद् गठनसँगै आगामी राजनीतिक समीकरण, नेतृत्व चयन र विधायिकाको कार्यसूचीबारे चासो बढेको छ।

