काठमाडौं — अमेरिका र इजरायलसँग जारी द्वन्द्व चौथो हप्तामा प्रवेश गरेसँगै इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको छ।
इरानी सशस्त्र बलको मुख्यालयले यदि अमेरिकाले इरानका ऊर्जा संरचनामा आक्रमण गरे प्रतिशोधस्वरूप जलसन्धि बन्द गरिने जनाएको हो। इरानी संसदका सभामुख मोहम्मद बाकर कालीबाफले ऊर्जा पूर्वाधारमा आक्रमण भए क्षेत्रका अमेरिकी लगानी र संरचनाहरू वैध निशाना बन्ने चेतावनी दिएका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत इरानका ऊर्जा केन्द्रमा प्रहार भए सम्पूर्ण तेल तथा ऊर्जा पूर्वाधार नष्ट गरिने र यसको प्रभावस्वरूप विश्व बजारमा तेलको मूल्य लामो समयसम्म उच्च रहने दाबी गरेका छन्। साथै, अमेरिकी ट्रेजरी बण्ड खरिदकर्तालाई समेत सावधान रहन आग्रह गर्दै ती क्षेत्रहरू निगरानीमा रहेको बताएका छन्।
यसअघि अमेरिकी राष्ट्रपतिले ४८ घण्टाभित्र जलसन्धि खुला नगरे इरानी पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका थिए। अमेरिकी सेन्ट्रकमले अन्तर्राष्ट्रिय जल यातायातमा अवरोध पुर्याउने इरानी नौसैनिक लक्ष्यहरूलाई नष्ट गरिरहेको जनाएको छ।
यसैबीच इजरायलको इजरायली रक्षा बल (आईडीएफ)ले तेहरानका विभिन्न रणनीतिक स्थानहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। आईडीएफका अनुसार सैन्य तालिम केन्द्र, मिसाइल भण्डारण गृह, हतियार उत्पादन स्थल र गुप्तचर मन्त्रालयमा क्षति पुर्याइएको छ।
इरानले गरेको पछिल्लो ब्यालिस्टिक मिसाइल आक्रमणमा मध्य इजरायलमा कम्तीमा १५ जना घाइते भएका छन् भने कैयौं घर र पूर्वाधारमा क्षति पुगेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई ‘सभ्यता र स्वतन्त्र विश्वको शत्रु’ भन्दै कडा जवाफ दिइने बताएका छन्।
पछिल्ला घटनाक्रमले मध्यपूर्वमा व्यापक युद्धको जोखिम बढाएको छ, जसले विश्व ऊर्जा आपूर्ति र आर्थिक स्थिरतामा गम्भीर असर पार्ने चिन्ता बढाएको छ।

