काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा आज सम्बोधन गर्ने भएका छन्।
ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा सञ्चालन भइरहेको दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रमअन्तर्गत बुधबार सभापति लामिछानेले सम्बोधन गर्न लागेका हुन्।
मंगलबारदेखि सुरु भएको उक्त कार्यक्रमको उद्घाटन उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले गरेका थिए। पहिलो दिनको कार्यक्रममा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह भने सहभागी भएका थिएनन्।
उपसभापति डीपी अर्यालले उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै सम्भव भएसम्म दुवै नेता बुधबारको कार्यक्रममा सहभागी हुने जानकारी दिएका थिए।
रास्वपाले नव निर्वाचित सांसदहरूलाई संसदीय भूमिका, जिम्मेवारी र प्रभावकारी कार्यसम्पादनका विषयमा जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जनाएको छ।

